काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल ( jhalanath khanal  ) ले मृत्युबाट बाँचेर आएकाले आफ्ना जीवन नाफाको भएको बताउनुभएको छ ।

७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उहाँको उद्घोष छ ।

लामो समय भारतमा उपचार गराएर फर्किनुभएका खनालले आफूहरुले एमाले फुटाएको नभई विद्रोह गरेको दावी गर्नुभयो ।

नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उहाँले स्पष्ट पार्नुभयो । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किनुभएका नेता खनालले, ‘विद्रोह नवनिर्माणका निम्ति भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनाल सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

उहाँलाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुग्नुभएको थियो ।

विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेर आउनुभएको थियो । विमानस्थलमा खनालको तर्फबाट एकीकृत समाजवादीका नेता प्रमेश हमालले विज्ञप्ति वाचन गर्नुभयो । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गर्नुभयो ।

मिर्गौलामा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । त्यहाँ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । उहाँ करिब साढे २ महिनापछि स्वदेश फर्किनुभयो ।

आफ्नो उपचारमा सहयोग गरेकोमा खनालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिनुभयो ।

खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको जानकारी पनि दिनुभयो । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालको दावी छ ।

‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छु, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । ७१ वर्ष पार गरिसकेँ । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु’ उहाँले प्रतिवद्धता दोहोर्याउनुभयो ।

 

सम्बन्धित खबरहरु