बुटवल । प्रकृतिको ताण्डवमा सिंगो बुटवल नै जोखिममा परेको छ । भीषण पहिरोको चपेटामा बुटवल ( Flood in city ) परेको हो । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट पहिरो खस्दा ७ घर पुरिएका छन् ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा आइतबार बिहान पनि पहिरोले तीन घर पुरिएका थिए । वर्षा नरोकिएकाले सोमबार पनि वस्तीमा पहिरो झरिरहेको छ । बर्षा निरन्तर रहे चुरेको गेगरले सिंगो बुटवल छोप्ने जोखिम बढेको छ ।

चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ ।

पहिरोबाट विस्थापित धेरैजसो आफन्तको आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जनबोलीलाई बताउनुभयो ।

ज्योतिनगरमा २३ वर्षअघि पनि पहिरो जांदा ५७ घरमा क्षति भएको थियो र पहिरोबाट विस्थापितलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो ।

तर पछि फेरि वस्ती बसेको थियो । पहिरोले पुरिएका घर मध्ये केही वनको जग्गामा बनेका घर र केही जग्गाधनी पुर्जा प्राप्त जग्गा छन् ।

पहिरो नरोकिए बुटवलको गोलपार्क र ट्राफिकचोक क्षेत्रसम्म क्षति पुग्न सक्ने जोखिम बढेको वातावरणविज्ञहरुले आशंका गरेका छन् । भूगोल विषयका प्राध्यापक डा. भोजराज कडेरियाले बुटवलको ज्योतिनगर पहिरोको उच्च जोखिमयुक्त क्षेत्र भएकाले त्यहांको वस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने बताउनुभएको छ ।

वन क्षेत्र अतिक्रमण गरी पक्की घरहरु बनाइंदा र वातावरणीय पक्षलाई बेवास्ता गरी सडक,विद्युत,खानेपानी पुर्वाधार विस्तार हुंदा चुरे क्षेत्र खल्बलिएर कमजोर बन्न पुगेको कडेरियाको विश्लेषण छ ।

 

सम्बन्धित खबरहरु