काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल ( jhalanath khanal ) भारतमा मिर्गौला फेरेर स्वदेश फर्किनुभएको छ ।

करिब अढाई महिनामा स्वदेश फर्किनुभएका उहाँले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको र पहिले भन्दा स्फूर्ती बढेको बताउनुभयो ।

उहाँले मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराउने सरकारका प्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो ।

सो क्रममा उहाँले आफूलाई श्रीमतीकी दिदिकी छोरीले मिर्गौला दिएको बताउनुभयो । उहाँले नाताले छोरीलाई विशेष धन्यवाद भन्नुभयो ।

भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आउनुभएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको खुलासा गर्नुभयो ।

उहाँले आफ्नै दिदी (जेठीसासु) को छोरीले आफूलाई मिर्गौला दान गरेको बताउनुभयो ।

‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उहाँले भन्नुभयो, ‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ । आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो ।’

उहाँले छोरी मेलिनाप्रति आभार प्रकट गर्नुभयो । उहाँले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताउनुभयो ।

‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उहाँले भन्नुभयो, ‘यो नयाँ जीवन बोनस प्राप्त गरेको नयाँ जीवन बनेको छ ।’

उहाँले यो वोनसमा मिलेको नयाँ जीवन लोकतन्त्र, संविधानको रक्षा, वैज्ञानिक नेपाली मोडलको समाजवाद, देश र राष्ट्रयताप्रति समर्पित हुने प्रतिवद्धता जनाउनुभयो ।

सम्बन्धित खबरहरु