काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले रुपान्तरित गर्नुपर्ने बताउनुभएको छ ।
भारतको नयाँदिल्लीमा स्वास्थ्योपचारपछि आज स्वदेश फर्कनुभएका पूर्वप्रधानमन्त्री खनालले एमालेमा आफूहरूले रगत र पसिना बगाएको भए पनि पछिल्लो समयमा नेतृत्वले त्यसको सम्मान नगरेको आरोप लगाउनुभयो ।
उहाँले अब आफू पार्टीमा कार्यकारी भूमिका नरही देश र जनताको सेवामा सक्दो सहयोग गर्ने जनाउनुभयो । सत्तरी वर्ष उमेरपछि पार्टीको कुनै पनि कार्यकारी भूमिकामा नरहने व्यवस्थालाई विधानतः लागू गर्नुपर्ने उहाँको भनाइ छ ।
नेता खनालको आगमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठन गर्नुपर्ने औचित्यबारे पुस्ट्याइँ दिनुभएको थियो । निर्वाचन आयोगले यही भदौ ९ गते उक्त समाजवादी दललाई मान्यता दिएको थियो ।
यो पनि,
नेकपा (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ । आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा आज भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आफ्ना तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेको हो ।
पार्टीबाट बहिर्गमित हुँदै गरेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यलाई समेतलाई १० बुँदे सहमतिलाई प्रस्थान विन्दु बनाउँदै पार्टीको बृहत्तर एकताको प्रवाहमा पुनः सामेल हुन आयोगले अपिल गरेको छ ।