काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् ।

यस रात भजन, कीर्तन गरेर व्रर्तालु रातभर जाग्राम बस्छन् । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

जन्माष्टमीका दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पूजा विधि मात्र गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।

उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गरिएको छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि यस वर्ष प्रभावित भएको छ । यस पर्वका अवसरमा विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुन ः शुरु गरिएको छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ ।

विद्यालय खुलेका बेला धेरैजसो शैक्षिक संस्थामा पनि बालबालिकालाई श्रीकृष्ण एवं राधिकाका रुपमा सिँगारेर यो पर्व मनाउने गरिएकामा यस वर्ष अधिकांश विद्यालय कोरोना जोखिमबाट बच्न बन्द गरिएकाले प्रभावित भएको छ ।

सम्बन्धित खबरहरु