काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको हो ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको हो । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

नेकपा एमाले त्याग गरेका १२ सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहनु भएको छ ।

यता, नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बन्नु भएका भीम आचार्यको पद पनि धरापमा परेको छ । प्रदेश १ का १० सांसदहरुले नेकपा एमाले छोड्ने भएपछि आचार्यको पद धरापमा पर्ने देखिएको हो ।

मुख्यमन्त्रीद्धय शाक्य र आचार्य शुरुमा बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो । तर पछि नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएपछि उहाँहरुले नेपालको साथ छोडेर एमालेको तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो ।

थप पढ्नुहोस् : पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्थामा मुख्यमन्त्री आचार्य, यस्तो छ सांसदको अङ्क गणित ?

सम्बन्धित खबरहरु