काठमाडौं । भारतले पहिलोपटक तालिबानसँग वार्ता गरेको छ । अफगानिस्तानमा तालिबान शक्तिमा आएपछि भारतले पहिलो पटक सो संगठनका नेतासँग वार्ता गरेको हो ।

दोहामा भारतका राजदूतले तालिबान नेतालाई भेटेर विभिन्न विषयहरुमा चर्चा गरेका छन् ।

अफगानिस्तानलाई चरमपन्थी संगठनहरुले प्रयोग गर्न सक्नेतर्फ भारतले चिन्ता व्यक्त गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यो बैठक तालिबानको अनुरोधमा गरिएको हो ।

कतारका लागि भारतीय राजदूत दीपक मित्तलले तालिबानको राजनीतिक कार्यालयका प्रमुख शेर मोहम्मद अब्बास स्टेनकजईलाई भेटेका हुन् ।

तालिबान पक्षको अनुरोधमा दोहास्थित भारतीय दूतावासमा बैठक भएको मन्त्रालयले जानकारी दिएको छ ।

भेटका क्रममा उनीहरुबीच अफगानिस्तानमा फसेका भारतीय नागरिकहरुको सुरक्षाबारे छलफल भयो । भारतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुको सुरक्षा र स्वदेश फिर्ताबारे पनि चर्चा गरेको छ ।

अफगान नागरिकहरु, विशेषगरी अल्पसंख्यकहरु, जो भारत भ्रमण गर्न चाहान्छन् उनीहरुको यात्रालाई लिएर पनि छलफल गरियो ।

राजदूत मित्तलले अफगानिस्तानको जमिन कुनै पनि हिसाबले भारत विरोधी गतिविधि र चरमपन्थी संगठनका लागि प्रयोग हुन नहुने बताएका छन् । तालिबान प्रतिनिधिले राजदूतलाई सबै विषयमा सकारात्मक रुपमा सम्बोधन गरिने भन्दै आश्वासन दिएका छन् ।

सम्बन्धित खबरहरु