काठमाडौं । काठमाडौं उपत्यकाभित्र दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ ।

काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमतिपछि फोहोर उठाउने कार्य शुरु भएको हो ।

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिक रुपमा सिसडोलमा व्यवस्थापन हुने गरेको छ ।

तर वर्षाको समयमा सिसडोलसम्म पुग्ने बाटो खराब भएको कारण देखाउँदै महानगरले फोहोर उठाइरहेको थिएन् । सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिमा धेरै कुराहरु उल्लेख गरिएको छ ।

सहमति अनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गर्ने भएको छ ।

दुई पक्षबीच भएको सहमतिमा सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने र सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख गरिएको छ ।

दुई पक्षबीच भएको सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको हो ।

नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि करिब एक महिना लाग्ने जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु