काठमाडौं । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।

परिसङ्घसँग मंगलबार भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गर्नुभयो ।

नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको जानकारी दिँदै उहाँले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताउनुभयो ।

“नेपाल–बङ्गलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्”, उहाँले भन्नुभयो ।

राजदूत चौधरीले नेपालको पर्यटन बङ्गलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यका रूपमा रहेको पनि उल्लेख गर्नुभयो ।

नीतिगत सुधार र उद्योगलाई दिएको सहुलियत एवं संरक्षणका कारण बङ्गलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्नु्हुँदै उहाँले नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने बताउनुभयो ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र त्यसमा बङ्गलादेशी लगानीकर्ता आकर्षित हुनसक्ने बताउनुभयो ।

बङ्गलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उहाँले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालबाट विद्युत् निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष अग्रवालले दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताउनुभयो । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाउनुभयो ।

परिसङ्घका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बङ्गलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसङ्घ तयार रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बङ्गलादेशलाई आग्रह गर्नुभयो ।

सम्बन्धित खबरहरु