काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहनुभएका खनालको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

नेता खनालले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिनुभएकाे र अध्यक्ष दाहाल र नेता खनालबीच वर्तमान राजनीतिक समसामयिक विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो ।

नेता खनालले अध्यक्ष दाहालसँग राजनीतिक गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष दाहालले गठबन्धन दलको साझा सहमतिका आधारमा नेपालको राजनीति अघि बढिरहेको र चाँडै मन्त्रीपरिषद विस्तारको तयारी भएको पनि जानकारी गराउनुभएको थियो ।

नेता खनाल स्वास्थ्य उपचारपछि हालै भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कनुभएको थियो । उहाँको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिले उहाँ आफ्नो निवासमै आराम गरिरहनुभएको छ ।

सम्बन्धित खबरहरु