काठमाडौं । कोरोना संक्रमणकाबीच काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको हो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो । बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने बताएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्नेछ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गरिसकेको छ । बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

सम्बन्धित खबरहरु