काठमाडौं । लामो समयदेखि उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको आज मृत्यु भएको हो ।

उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिरहेको थियो ।

नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको हो । उनको निधनले अत्यन्त दुःखी भएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

केहि वर्ष पहिले भारतमा भएको एक सडक दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले उद्धार गरेको थियो ।

उनलाई अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको हो । आर्थिक अभाव भएपछि उपचारमा समस्या आएको थियो, सोही क्रममा अस्पतालले उद्धार गरी निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेपछि हालै एक विज्ञप्ति जारी गरिएको थियो ।

निरन्तर तीन महिना चलेको उपचारमा अस्पतालले ५० लाख भन्दा धेरै रकम खर्च गरेको जानकारी दिइएको थियो । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले पनि काम गर्न छाडेपछि अवस्था थप चिन्ताजनक भएको थियो ।

सम्बन्धित खबरहरु