काठमाडौं । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिनुभयो ।

कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ ।

विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ ।

विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ ।

रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

सम्बन्धित खबरहरु