काठमाडौ । दाङको सिस्ने खोलाको बाढीले कार बगाउँदा दिदी बहिनी सुशीला श्रेष्ठ र राधा कुँवर एकै साथ अस्ताएको घटनाले स्तव्ध बनाएको छ ।

घटना नसोचेको र फिल्मका लागि कल्पनापनि गर्न नसकेको खालको छ । उनीहरु गाडीभित्र खोलामा बग्दा बग्दै फोन गरेर उद्धार गरिदिन आग्रह गरिरहन्छन् तर त्यो नियतिले पूरा गर्न दिँदैन ।

दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवरका लागि यस्तै भएको छ । उनका छोरा १३ वर्षे अंकित आज टुहुरो भएका छन् । स्वर्गकी परी जस्ती आमा र श्रीमती उनीहरुले गुमाएका छन् ।


घोराही १३ कै नरबहादुर पुनले चलाएको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कारमा ३३ वर्षीया राधा कुँवरसँगै उनकी ३५ वर्षीया सहोदर दिदी सुशीला श्रेष्ठ, रमेशकी ठूली आमाकी छोरी बिमला केसी र सुशीलाकी साथी रितामाया पुन तीजका लागि आवश्यक लत्ताकपडा र सरसामान किनेर घर फर्किरहेका थिए। त्यही कारमा यी सबैको निधन भयो ।

घर फर्किरहेका बेला राति आत्तिदै राधाले रमेशलाई फेरि फोन गरिन्। ‘बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’

त्यही बीचमा राधाकी दिदीले भनिन्, ‘ज्वाँई हामीलाई खोलाले बगायो, तर तपाँई नआत्तिनुहोला।’ यति सम्वाद गर्दापनि कार खोलाले बगाइरहेको थियो । तर पानीले उनीहरुलाई असर गरेको थिएन ।

गाडी बाहिर निस्किने आँटपनि थिएन । केही समयपछि खोलाले कार धेरै तल पुर्यायो । बग्दै पल्टिदै गयो । त्यसपछि एउटै कारभित्र चालक बाहेक उनीहरु चार जनाको मृत्यु भयो ।

उनीहरुले फोन गरेको केही बेरमा नै फोन सम्पर्क हुन सकेन। रमेशलाई के गरौं कसो गरौं भयो। तत्कालै उनले साथीलाई फोन गरे।

‘तिमिहरूको भाउजु राधालाई खोलाले बगायो रे, तुरून्त सिस्ने खोलामा पुगिहाल।’स्कार्पियो लिएर उनीहरु तीब्र गतिमा घोराहीदेखि करिब साढे ३ किलोमिटर टाढाको सिस्ने खोला पुगे।

रमेश मोटरसाईकलमा एक्लै घटनास्थलतर्फ लागे। चोकमा ड्यूटीमा बसेका प्रहरीलाई घटनाबारे जानकारी दिए। ९ मिनेट पछि उनी पनि घटनास्थल पुगे।

सुशीला र राधा घोराही १६ का वडा सदस्य जगत श्रेष्ठका छोरी हुन्। श्रेष्ठ परिवारका दुई दिदी बहिनीबीच अगाध प्रेम थियो । सकभर जहाँ पनि सँगै जाने गर्थे । तीजका लागि आवश्यक सरसामान किन्न भनेर उनीहरू बुधबार बिहान ७ बजे घरबाट नेपालगञ्जतर्फ गएका थिए।

राधालाई रमेशले किनमेलका लागि भनेर १७ हजार रूपैंया दिएका थिए। ‘आफ्नो लागि साडी, आमालाई धोति, जिरा, दाल र एउटा प्रेसर कुकर पनि किनेर ल्याउने भन्दैं राधा नेपालगञ्ज गएकी थिइन्,’ रोधन मिस्रित स्वरमा रमेशले भने, ‘यस्तो होला भन्ने कहिलै कल्पना पनि गरेको थिएन।

दैवको लिला देखेर पनि उदेग लागेर आउँछ।’प्रहरीले उनीहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारेको थियो।

सम्बन्धित खबरहरु