काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले लामो समय भैसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सक्नु भएको छैन । यो बीचमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले भदौ २२ सम्म मन्त्रिमण्डल विस्तार नहुने संकेत गर्नुभएको छ ।

बिहीबार नेकपा एसको संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘भदौ २२ गतेसम्म यस विषयमा कसैले चुँ पनि गर्दैन ।’ नेता नेपालले सो अवसरमा आफू नेतृत्वको पार्टीमा आउन पार्टीपंक्तिमा आव्हान गर्नुभएको छ ।

अध्यक्ष नेपालले नेकपा एमालेको एकताका लागि गरिएको १० बुँदे सहमतिपत्रको भ्रममा कोहिपनि नपर्न समेत प्रदशसभा सदस्य, जनप्रतिनिधि लगायत सिंगो पार्टी पंक्तिमा आव्हान गर्नुभयो । साउन २७ गते राति १० बजे १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने कारण के थियो ? भन्दै नेपालले प्रश्न गर्नुभयो ।

आफूहरुले नेकपा एमाले केपी शर्मा ओली प्रवृत्तिका विरुद्ध २०७७ चैत ४ र ५ गते राष्ट्रिय सम्मेलन गरेर विद्रोहको पहिलोपटक शंखघोष गरेको पनि बताउनुभयो । नेपाल नेतृत्वको नेकपा एसले आगामी दिनमा नयाँ क्रान्तिकारी कम्युनिस्ट शक्तिको रुपमा स्थापित हुँदै जाने दाबी गर्दै आएको छ ।

सम्बन्धित खबरहरु