काठमाडौं । शुक्रबार (आज) काठमाडौंमा शोक विदा दिइएको छ । काठमाडौं महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि विदा दिइएको हो ।

क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो । उहाँले लामो समयदेखि क्यान्सरको उपचार गराउँदै आउनु भएको थियो ।

वि.सं. २०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ ।

उहाँको पार्थिव शरीरलाई भोलि (शुक्रबार) बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ । जानकारी अनुसार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लैजाने तयारी गरिएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीति गर्दै आउनु भएका श्रेष्ठले २०४९, २०५४ र २०७४ सालको स्थानीय चुनावमा अत्यधिक मतका साथ वडाध्यक्षमा निर्वाचित हुनुभयो ।

वडाध्यक्ष पञ्चायतकालमा समेत वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । वडाध्यक्ष श्रेष्ठ वडा नम्बर १९ का स्थानीयमाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । स्वर्गिय वडाध्यक्ष श्रेष्ठको श्रीमती सानुमाया, एक छोरा, तीन छोरी र दुई जना भाईहरु छन् ।

सम्बन्धित खबरहरु