काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन आजबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

ती जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । प्रवत्ता शर्माले कांग्रेसको विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधि ३३ प्रतिशत सुनिश्चित गरिएको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस संविधानले व्यवस्था गरेको प्रावधानलाई आफ्नो विधानमार्फत कार्यान्वयन गर्ने पहिलो पार्टी भएको उहाँको दाबी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको जानकारी दिनुभयो  ।

जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएको जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक एक जनाका दरले मतदान अधिकृत खटाउने भएको हो । कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ ।

पार्टी प्रवक्ता शर्माले जिल्लाको आन्तरिक वस्तुस्थिति, कोरोना भाइरस सङ्क्रमण, जिल्लाका समस्यालगायतका आधारमा वडा अधिवेशनको कार्यतालिका केही दिन पर पर्न सक्ने अवस्था रहेको बताउनुभयो । निर्वाचन केही दिन पर सरे पनि जिल्लाभर वडा अधिवेशन भने एकै दिन गर्नुपर्ने छ ।

ढिलामा पनि भदौ २६ गतेभित्र वडा अधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने छ । पार्टीले भदौ २७ गते ७५३ वटै स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)को अधिवेशन गर्ने कार्यतालिका राखेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ । 

सम्बन्धित खबरहरु