काठमाडौ । देशको पूर्वोत्तर भाग आएको भयानक आँधीपछि अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति ऐतिहासिक लगानी आवश्यक पर्ने बताएका छन्।

उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका छन्। ( New York, New Jersey governors declare emergencies amid flooding from Tropical Storm Ida )

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ। केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्। समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।

चार राज्यमा भएको मानवीय क्षति
न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्। त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए।

न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ। त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए। पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।

समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन। तर के चाहिँ निश्चित छ भने समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात् टाइफून उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्छ।

त्यस्तो अवस्थामा त्यस्ता प्रवृत्तिहरू धेरै विनाशकारी हुने र चरम वर्षा गराउने सम्भावना रहन्छ। औद्योगिक युग सुरु भएयता विश्वमा ‍औसत १.२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ।

उत्सर्जन कटौतीमा विश्वभरिका सरकारहरूले काम नगरे यो क्रम निरन्तर रहने देखिन्छ। न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए।

उनले मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्च पानी परेको बताए। न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन्।

त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन्। न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ। कैयौँ उडानहरू रद्द भएका छन्।

 

सम्बन्धित खबरहरु