काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढीमा परेर अमेरिकामा तीन नेपालीहरुको मृत्यु भएको छ ।

 

न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

परिवारिक श्रोतका अनुसार न्युयोर्कमा आएको बाढीमा परेर सोलुखुम्बु जुनबेसीका तीन जनाको मृत्यु भएको छ ।

मृतकहरुको पहिचान ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाका रुपमा भएको छ ।

उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए । जानकारी अनुसार, उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो ।

लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आउनु भएको थियो ।

आङ गेलु लामाका दाइ लातेन लामाले भन्नुभयो, ‘अकल्पनीय घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा हामीलाई निकै दुख लागिरहेको छ ।’

न्युयोर्कमा परेको अविरल वर्षाका कारण ४६ जनाको मृत्यु भएको सिएनएनले जानकारी दिएको छ ।

बाढीमा परेर न्यु जर्सीमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । पूर्वी क्षेत्रका शहरहरुमा बाढीबाट मृत्यु हुनेहरुको संख्या बिहीबार ४६ पुगेको छ ।

गभर्नर फिल मर्फीले अधिकांश मृतक बाढीले आफ्नो सवारी साधनमा फसेका मानिसहरु भएको उल्लेख गर्नुभएको छ । अधिकारीहरुका अनुसार धेरै मानिसहरु बेपत्ता छन् ।

कनेक्टिकट, मेरील्याण्ड, न्यु जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौं मानिसहरु बाढीमा कारण ज्यान गुमाउन बाध्य भएका छन् ।

आँधीबेहरीले केही क्षेत्रमा नसोचेको वर्षा गराएपछि बाढी आएको हो । मृत्यु हुनेको संख्यामा कनेक्टिकटका एक राज्य सैनिक पनि सामेल छन् ।

सम्बन्धित खबरहरु