काठमाडौं । अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित दूतावास अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् । जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् ।

आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गर्नुभएको हो । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ मा एक हजार सदस्य रहेको उहाँको दाबी रहेको छ ।

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउँदै हुनुहुन्छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने कार्यक्रम रहेको छ ।

एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाउनु भएको छ ।

उहाँले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको बताउनुभयो ।

रावलले बिहीबार ट्वीट गर्दै भन्नुभयो, ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ ।

सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन ।’

सम्बन्धित खबरहरु