काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनावमा भाग नलिने प्रष्ट्याउनु भएको हो ।

प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।

‘लिबेरल डेमोक्रयाटिक पार्टी’का महासचिवका अनुसार सुगाले कार्यकारी बैठकमा आफू पूर्णरुपमा कोभिड १९ विरुद्धको खोप अभियानमा केन्द्रित हुन चाहेकोले दलको नेता भएर चुनावमा नजाने बताउनुभएको एएफपीले उल्लेख गरेको छ ।

उहाँले सुगाको घोषणाबाट आफू स्तब्ध भएको बताउनुहुँदै राम्रो गर्दागर्दै नतिजा नकारात्मक हुन जानु पछुताउनुभन्दा केही नरहेको बताउनुभएको छ । प्रधानमन्त्री सुगाको राजीनामा दिनुहुने घोषणासँगै जापानको शेयर बजार तीव्र रुपमा बढेको छ । टोपिक्स सूचक आफ्नो तीन दशकको सबैभन्दा उच्च तहमा पुगेको छ ।

सत्तारुढ दलमा नेता बन्ने रस्साकस्सी र शक्तिशाली सरकार बन्ने अपेक्षामा शेयर बजार उकालो लागेको बीबीसीले उल्लेख गरेको छ । ७२ वर्षीय सुगा जापानको एक किसानमा परिवारमा जन्मिनुभएको हो । पहिलो पटक उहाँ सन् १९८७ मा योकोहामा शहर परिषदमा निर्वाचित हुनुभएको थियो ।

सन् २००५ मा प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उहाँलाई आन्तरिक मामिला र सञ्चारका वरिष्ठ उपमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । लगत्तै कोइजुमीपछिका प्रधानमन्त्री सिञ्जो आबेइले सुगालाई तीन मन्त्रालयको जिम्मेवारी दिएर बढुवा गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु