काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । दार्चुला घटनाको विरोधमा नेकपा एकीकृत समाजवादी सम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका हुन् । विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला दहन गरेका छन् ।

उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउँदै पुत्ला दहन गरेका हुन् । १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनु भएको थियो ।

घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरिएको छ । तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।

हालै भारतको विदेश मन्त्रालयले यस घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताएको थियो । सञ्चारमाध्यमहरुमा आएको खबर थाहा पाएको भए पनि नेपालबाट सरकारी तवरबाट कुनै जानकारी नपाएको भारतीय पक्षको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु