काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा पाउन सफल गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् ।

उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । ( Ibaadat Ban Gaye Ho Video Song Smita Dahal Shabab Sabri Feat Arjun Bijlani Smita Dahal )

गायनमा उनलाई शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ ।

यो गीतको भिडियोमा स्मिता आफैले मोडलिङ गरेकी छिन् । उनलाई भारतीय टेलिभिजनका सफल कलाकार अर्जुन बिज्लानीले अभिनयमा साथ दिएका छन् ।

स्मिता र अर्जुनको जोडी भिडियोमा रोमान्टिक देखिएको छ । राजीव एस रुयाले निर्देशन गरेको यो भिडियोलाई पूनम यादवले निर्माण गरेकी हुन् ।

चाडै नै चलचित्र निर्माणमा समेत प्रवेश गर्ने तयारीमा रहेकी पूनमले भिडियोलाई आकर्षक बनाउन कुनै कञ्जुस्याँई गरेकी छैनन् ।

भिडियोमा देहरादुनको मसुरी र उतराखण्डको ऋषिकेशको सुन्दरतालाई प्रस्तुत गरिएको छ ।

जेस्टिन क्रियटिभ स्पाकैको ब्यानरमा निर्माण भएको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री पूनमले नेपालका प्रतिभावान् कलाकारलाई विश्वमाझ चिनाउन आफू मनोरञ्जन क्षेत्रमा आएको बताइन् ।

स्मिता दाहाल नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

प्रचण्डकी कान्ति छोरी गंगा दाहालबाट स्मिताको जन्म भएको हो । उनका पिता भारतिय हुन् । बाबु भारतिय भएपनि स्मिताले भने आमा गंगाको नामबाट नागरिकता लिएकी छिन् ।

सम्बन्धित खबरहरु