काठमाडौं । तालिबान सरकार गठन गर्ने अन्तिम चरणमा पुगेको छ । विश्वका सबै देशहरु आफ्ना नागरिक फिर्ता लिदैँ छन् ।

यो बीचमा अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् ।

बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपाल आइपुगेकाहरुलाई कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरेको जनाएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएसन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु