काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि बन्द गरिएको पशुपतिनाथ ( Pashupatinath temple ) र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । आगामी भदौ २५ गतेदेखि मन्दिर खुलाउने तयारी भएको हो ।

भदौ २५ गतेदेखि पशुपतिनाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञासँगै भक्तजनका लागि यी मन्दिर बन्द गरिएको थियो । मन्दिरमा नित्य पूजा भने रोकिएको थिएन ।

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा हटाइएसँगै भक्तजनका लागि मन्दिर खुलाउने तयारी भएको हो ।

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ।

यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

सम्बन्धित खबरहरु