काठमाडौं । भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ ।

बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ ।

भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन् । नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो ।

अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए ।

‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने ।

गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उनले बताए ।

अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उनले बताए । ‘ हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो ?

उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भने, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

 

सम्बन्धित खबरहरु