विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल नेकपा एकीकृत समाजवादी रोजे उहाँहरुको पद जोगिने बताउनुभएको छ ।

नेतृ झाक्रीले उहाँहरुलाई नै विश्वासको मत दिने बताउनुभएको हो ।

शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताउनुभएको हो ।

‘दल छान्ने अधिकार २३ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिनेछौ । अन्यथा पद गुम्ने निश्चित छ ।

नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने बताउनुभयो ।

‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘हामीले विश्वासको मत दिने प्रश्न आउँदैन ।’

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए ।

तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

नेतृ झाँक्रीले दल विभाजनमा साथ नदिएका एमालेका तत्कालिन माधवकुमार नेपाल पक्षका नेताहरु स्वार्थी बनेको बताउनुभयो ।

‘कति स्वार्थी ट्रेन चढ्छन्, कति झर्छन्, उहाँहरुलाई देखेर पार्टी बनाउन लागेको होइन’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु