काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । ओलीलाई सामान्य ज्वरो आएको जानकारी दिइएको छ ।

स्वास्थ्य थकानका कारण ओली सहभागि हुने सबै कार्यक्रमहरु स्थगीत गरिएको बताइएको छ । अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईँले ओलीलाई केही समयदेखिको धपडीका कारण ज्वरो आएको हुनसक्ने बताउनुभयो ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेलामा अस्वस्थताका कारण ओली सहभागी हुन नसक्ने जानकारी दिएको छ । उक्त कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

अध्यक्ष ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । उहाँका २ वटा मिर्गौला खराब भएपछि मिर्गौला प्रत्यारोपण गरिएको छ । ओलीको १४ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

२०७६ फागुनमा दोस्रो पटक उहाँको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरियो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि उहाँले नियमित औषधि खाँदै आउनु भएको छ । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उहाँको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ ।

सम्बन्धित खबरहरु