काठमाडौं । तालिबानका वरिष्ठ नेताले कतारको दोहामा पाकिस्तानका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

दोहास्थित तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तानेकजै नेतृत्वको टोलिले पाकिस्तान दूताबासका कुटनीतिज्ञहरुसँग छलफल गरेको हो ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले पाकिस्तानी अधिकारीहरुसँग मानवीय सहयोग र सीमा क्षेत्रमा सर्वसाधारणको चहलपहललाई प्रोत्साहित गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । छलफलमा अफगानिस्तानको वर्तमान अवस्थाबारे समेत कुराकानी भएको छ ।

शाहीनले ट्वीटमा लेख्नुभएको छ, “दुबै पक्षले अफगानको स्थिति, मानवीय सहयोग द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल गरेको छ ।”

तालिबानको काबुल नियन्त्रणपछि बढ्दो शरणार्थी, सर्वसाधारणको पलायनका बीच दुबै देशका अधिकारीहरुबीच छलफल भएको हो ।

साताको सुरुवातमा पाकिस्तानले सुरक्षाको कारण देखाउँदै अफगानसँग जोडिएको चमन सीमा बन्द गरेको थियो ।

सम्बन्धित खबरहरु