काठमाडौ । गएको असारमा आएको बाढीपछि बस्ती समेत बगरमा परिणत भएपछिको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोला क्षेत्र ।

गएको असारमा आएको बाढीपछि बस्ती समेत बगरमा परिणत भएपछिको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोला क्षेत्र ।

हेलम्बु । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरू ।

शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो, जहाँबाट बाढी र पहिरोलो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो ।

माथिबाट चियाउँदा लाग्थ्यो, खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् बिनावर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ ।

जंगलबीचका सेतो कमेरे माटोका धर्साहरू त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ, अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि, प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुंगा–माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ ।

खोलाले किनाराका बगरछेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।

“थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्,” हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ।

यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रूप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला पारेकी छन् । मजदुर लगाएर घर खोतल्दै गरेकी उनलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । अनि, कति घरको चार तलासम्म बगर भरिएको उनले सुनाइन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरू अस्थायी टहरामा बसिरहेका छन् । उनीहरू स्थायी बसोबासको माग गरिरहेका छ्न ।

गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो, हेलम्बु गाउँपालिका–२ को गणेशेबगर । यहाँका ४५ परिवारका घरखेतमा खोला बगेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ । केही घरको त निसाना नै नामेट छ । पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा बगेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरूका पक्की घरबाट खोला बगेको छ । तर, उनीहरू भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन् ।

“अब हामी कतिञ्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुपर्‍यो,” आज गृहमन्त्री बालकृष्ण खाँणसामु बाढीपीडित राम तामाङले अनुनय गरे । उनले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोखे ।

गृहमन्त्री खाँणले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिट्टै निकास पाउने आश्वासन दिएर फर्किएका छन् । उनले विपद् व्यवस्थापनमा लागेका संघ–संस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्नसमेत निर्देशन दिएका छन् ।

“सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र बासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुपर्‍यो,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँणले भने ।

हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँणले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताउँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुंगे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याए ।

“कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ,” उनले भने, “सिन्धुपाल्चोकलाई बाढी–पहिरो र भूकम्पले विपद् निम्त्याइरहनु दुःखद् छ ।” दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गरेका गृहमन्त्री खाँणले पुनर्निर्माण प्रारम्भ गर्न छुट्टै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएका छन् ।

बस्तीतर्फ धार सोझ्याउँदै कोसी र कमला
पहाड र हिमाली क्षेत्रमा पहिरोले ठूलो जोखिम छ । हेलम्बु, मेलम्चीलगात धेरै पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्को चुनौतीको विषय बनेको छ ।

यसपालि पनि सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटमा झन्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ । “केहीअघिको बाढीले त्यस क्षेत्रमा १०० मिटरभित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो,” स्थानीय राजकुमार चौधरीले भने ।

त्यस क्षेत्रबाट वि।सं। २०३४ अघि सप्तकोसी बगेको थियो । पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो । सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्छन्, “अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ ।”

उक्त क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँणले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै पहिले कोसीले पूर्व क्षेत्रमा कटान गरेकामा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको बताए । उनले कोसी बाढी, डुबानबाट जनतालाई कसरी सुरक्षित बनाउने भन्नेमै सरकारको ध्यान रहेको बताए । त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरपरिवार प्रभावित हुनेछन् ।

यता, कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिरहेको छ । कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ । धनुषाको सबैला नगरपालिका–१३, किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ ।

सप्तरी क्षेत्रमा चारवटा र धनुषापट्टि तीनवटा एक्जाभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो । त्यही बेला सुरक्षाकर्मी र स्थानीयवासी मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए । त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउँछन् ।

त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँचवटा वडा, सहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उनले सुनाए । त्यसले कम्तीमा २७ हजार घरधुरीका एक लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

अहिले अस्थायी तटबन्धका लागि करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ । यहाँ स्थायी तटबन्धका लागि भने ४० करोड रुपैयाँ माथि लाग्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा पनि गृहमन्त्री खाँणले स्थलगत निरीक्षण तथा अनुगमन गरी जानकारी लिएका थिए ।

“साझा प्रयत्नले ठूलो दुर्घटना हुनबाट जोगिएछ, अब यसलाई स्थायी तटबन्ध बनाउनुपर्छ, त्यसप्रति सरकार गम्भीर छ,” स्थानीयवासीको मागप्रति मन्त्री खाँणले आश्वासन दिँदै भने । सानोतिनो प्रयासले नहुने भन्दै गम्भीरतावूर्पक कदम चाल्नुपर्ने देखिएको पनि उनले बताए ।

उनीसँगै आज हवाई तथा स्थलगत निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल, हेलम्बु गाउँपालिकका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत सहभागी थिए । रासस

सम्बन्धित खबरहरु