काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणको एकै दिनको सरकारी खर्च २० लाख बढी देखिएको छ । त्योपनि बाढीपहिरो तथा कटानको निरीक्षणका क्रममा उहाँले एक दिनमै २० लाख रूपैयाँ बढी सिध्याएको खुल्न आएको छ ।

गृहमन्त्री खाँण शनिबार जम्बो टोलीसाथ तीन जिल्लामा बाढी–पहिरोको निरीक्षण भन्दै निस्किनुभएको थियो ।

यसरी जाँदा उहाँले नेपाली सेनाको एमआई–१७ हेलिकप्टर चार्टर्ड गर्नुभयो । एमआई–१७ हेलिकप्टर सेनाले प्रतिघन्टा ७ लाख ४४ हजार २७९ रूपैयाँमा उडाउँछ। एआआई–१७ शनिबार तीन घन्टाजति उडेको थियो।

शनिबार गृहमन्त्री खाँण सिन्धोपाल्चोकको हेलम्बु, मेलम्ची, उदयपुरको कोसी कटान क्षेत्र र धनुषाको कमला नदीमा भएको कटानको निरीक्षणमा निस्किनुभएको थियो ।

यो निरीक्षणमा उहाँसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेशसभा सदस्य निमा लामा, युवराज दुलाल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापालगायत सरकारी अधिकारीहरूको टोली थियो।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सिन्धुपाल्चोकमा जाँदा मन्त्री खाँणले विपदका कारण मृत्यु भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली, परिवार तथा आफन्तलाई समवेदना दिनुभयो । तर सहयोगको बाचा र सहयोगको प्याकेज केही दिन सक्नुभएन ।

गृहमन्त्रीको टोली सुरूमा हेलम्बुको गणेशेबगरमा पुग्यो। त्यहाँ बगरमा हेलिकप्टर ल्याण्ड गराएपछि टोलीले करिब ४५ मिनेट निरीक्षण गर्‍यो। त्यसपछि हेलिकप्टर मेलम्चीस्थित सेनाको ब्यारेकमा पुगेको थियो। टोलीले मेलम्ची क्षेत्रको निरीक्षण गरेको थियो। यो बाढी–पहिरोले गरेको क्षतिमा राहत र उद्धार पहिले नै भइसकेको थियो, पुनर्स्थापनाको काम पनि सकिएको छ। जतिबेला चाहिएको थियो त्यो बेला उहाँ जानुभएन । तर बेमौसमी बाजा लिएर त्यहाँ पुग्नुभयो ।

किनकी बाढी–पहिरोको क्षति, दिर्घकालिन समाधान बारे बुझ्ने विषयविज्ञ वा भूगर्भविद त्यहाँ कोही पनि थिएनन्। त्यसपछि उहाँको टोली उदयपुर जिल्लाको बेलका नगरपालिकामा सप्तकोसी नदीले कटान गरिरहेको क्षेत्रमा पुग्यो । त्यहाँ केही दिनदेखि कटानका कारण नदीको बहाब परिवर्तन भइरहेको छ। त्यसपछि खाँण हेलिकप्टरमा धनुषा जिल्लाको सबैला नगरपालिका–१३ किरतपुर र वडा नम्बर ४ को पटेर्वा भन्ने स्थानमा पुग्नुभयो । त्यहाँ कमला नदीले तटबन्ध बगाउनुका साथै नदीको बहाव परिवर्तन भइरहेको छ।

यसरी उहाँले एक दिनमा नै २० लाख सक्नुभयो । त्यो रकमले कम्तिमा कमला नदीले धार परिवर्तन गर्न लागेको स्थानमा तटबन्ध गराउन सकिन्थ्यो ।

पुनर्स्थापनाको काम चाहिँ जिल्लास्तरीय प्रकोप उद्धार समितिकै अग्रसरतामा हुने गर्छ, त्यसका लागि दलबलसहित गृहमन्त्री पुग्नु पर्दैन। ‘नगई नहुने अवस्थामा वा केन्द्रको उपस्थिति हुनै पर्ने, जस्तोः कुनै तात्विक महसुस हुने गरी नीतिगत निर्णय, योजना वा कार्यक्रम गर्नैपर्ने भए गएको सुहाउँछ, नभए त स्थानीय सरकार र प्रदेशले काम गरिसकेको सन्दर्भमा गृहमन्त्री गइरहन पर्दैन,’ ‘जिल्ला र प्रदेशबाट काम भएको छैन, आफैं जानुपर्ने स्थिति भयो भने गृहमन्त्री गएको सुहाउँछ, नभए जनताले तिरेको रकम खर्चेर जानुलाई अन्यथा नै मानिन्छ।’

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार आपतकालीन अवस्थामा प्रायः गृह मन्त्रालयले सेनाको एमआई–१७ हेलिकप्टर माग्ने गरेको छ। जुन हेलिकप्टरले गह्रौं भारीसँगै धेरै मानिसहरूलाई उद्धार गर्न सक्छ।

त्यसबेला सेनाले पछि रकम भुक्तानी गर्ने गरी उडान गरिदिन्छ। तर, आकस्मिकबाहेकको उडान गरेबापत चार्टर्ड फ्लाइटको भुक्तानी अग्रिम पनि गर्नुपर्छ। यो अनिवार्य सर्त हो र अहिलेसम्म गृह मन्त्रालयले तिरिरहेकै छ।

‘हामी सीमित घन्टाका लागि चार्टर्ड उडान दिन्छौं, तर तोकिएको भाडाचाहिँ भुक्तानी हुनुपर्छ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले भन्नुभयो, ‘भुक्तानीका लागि ताकेता गर्ने सिस्टम पनि छ।’ यो उडानमा गृहले अग्रिम भुक्तानी गरेको सैनिक स्रोतको जानकारी छ ।

सम्बन्धित खबरहरु