दाङ । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ।

लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए।

‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका घर्तीको जालमा सर्पजस्तै लामो अढैया जातको माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भन्नुभयो, ‘माछा फटफटाइरहेपछि घर्तीले मार्नलाई आफ्नै मुखले त्यसको टाउको टोकेलगतै उहाँ बेहोस हुनु भएछ र दौडाएर अस्पताल ल्याउनासाथ चिकित्सकले उहाँलाई मृत्यु भइसकेको घोषणा गरेका थिए।’

एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २ः४५ बजेतिर घर्तीको बल्छीमा सर्पजस्तै देखिने झन्डै एक हात लामो अढैया जातको माछा परेको थियो।

त्यसको टाउको मुखले टोकेको ३–४ मिनेटपछि घर्ती बेहोस भएका थिए। श्रीमतीले गाउँलेलाई गुहारेर श्रीमानलाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कसले मृत घोषणा गरेको एसपी काफ्लेले बताउनुभयो ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले अनौठो घटना घटेको भए पनि परीक्षण रिपोर्ट नआउँदासम्म घर्तीको मृत्यु यही कारणले भयो भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

‘हामीले सर्पजस्तै देखिने झन्डै एक हात लामो माछा पनि अस्पतालमै राखेका छौं,’ पौडेलले भन्नुभयो, ‘परीक्षण रिपोर्टले घर्तीको मृत्यु माछाको विषका कारण भएको हो वा अन्य केही कारणले भएको हो भन्ने यकिन हुने छ।’

एकाएक घर्तीलाई हृदयघात भएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । ‘तर, यो माछा दुरुस्तै सर्पजस्तै हुँदो रहेछ,’ पौडेलले भन्नुभयो, ‘त्यसैले त्यो माछाको टाउकोमा विष भण्डारण थियो कि भन्ने आशंकापनि छ ।

सम्बन्धित खबरहरु