काठमाडौं । अविरल वर्षका कारण पर्वतमा प्रसारण लाइन टावर ढल्दा ६८.२ मेगावाट विद्युत् आपूर्ति प्रणालीबाट बाहिरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पर्वतको जिल्ला सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत् गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो ।

मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।

यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत् गृहहरूको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । साथै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा पाँच मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापा खोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको जनाइएको छ ।

आपत्कालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युत् सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुस्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ ।

सम्बन्धित खबरहरु