काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु जिम्मेवारी बाँडफाँट गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशनमा उल्लेख भए अनुसार नेताहरुको जिम्मेवारी बाँडफाँट गरिएको बताउनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो ।

स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएको उहाँले बताउनुभयो ।

यसैगरी पार्टीको दैनिक कार्यसम्पादन गर्नका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठसहितको सचिवालय गठन गरिएको छ ।

गौतमले प्रदेश इञ्चार्ज पनि तोकिएको जानकारी दिनुभयो । उहाँले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भगवत विश्वसी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला चयन गरिएको बताउनुभयो ।

उहाँले अहिले सुदूरपश्चिम प्रदेशमा भने तत्काल इञ्चार्ज नतोकिएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु