काठमाडौं । महाकालीमा बेपत्ता जयसिंह धामीको न्यायका लागि भइरहेको आन्दोलनलाई लिएर सरकारले मुख खोलेको छ । गृह मन्‍त्रालयले मित्र राष्‍ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुरोध गरेको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध भइरहेको भन्दै नगर्न चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

अगाडि भनिएको छ, ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिदै आएको उल्लेख गर्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने जानकारी दिएको छ ।

मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

सम्बन्धित खबरहरु