काठमाडौं । सरकारमा नजाने सर्तमा प्रधानमन्त्री शेर बहादुर देउवालाई समर्थन दिएको राष्ट्रिय जनमोर्चाले एमसीसीविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

जनमोर्चाले भदौ २२ गते देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गर्न लागेको हो । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको भन्दै कुनै हालतमा अनुमोदन गर्न नहुने जनमोर्चाको तर्क रहेको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको आरोप लगाइएको छ ।

एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति भएको पनि उहाँले जानकारी दिनुभयो ।

तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने कुरा पनि विज्ञप्तिमा खुलाइएको छ ।

जनमोर्चाले एमसीसीलाई संसदबाट पारित गराउन अमेरिकाले दबाब दिएको आरोप पनि लगाएको छ । अहिले देउवा सरकार एमसीसीलाई पारित गर्ने चलखेलमा लागेको अनुमान गर्न गाह्रो नहुने केसीको भनाई रहेको छ । एमसीए उपाध्यक्ष फातिमा सुमार नेपाल आउन लागेकी छिन् ।

उनको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्न लागेको जनमोर्चाले जानकारी गराएको छ । मंगलबार ७७ वटै जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी लगायत विरोध कार्यक्रम गरिनेछ ।

सम्बन्धित खबरहरु