काठमाडौं । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताउनुभएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उहाँले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

एकसाता अघि नेपाल आउनुभएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न विषयमाथि गर्नुभएको छलफलका क्रममा उहाँले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राख्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

“नेपाल सम्भावना नै सम्भावना भएको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केबल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन”, सद्गुरुको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल विश्वका अरु देश जस्तो नभइ अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकाले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकत्ता भएको बताउँदै उहाँले योजनाबद्ध विकासबिना दिगो विकास सम्भव नहुने धारणा राख्नुभयो ।

नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान पनि उहाँले सुझाव दिनुभयो । आउने दश वर्षभित्रै नेपालको पर्यटनलाई कूल ग्राहस्थ उत्पादन (जिडिपी) को करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिने सद्गुरुको भनाइ थियो ।

सद्गुरु नेपाली भूभाग लिमी भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाडौँ फर्किनुभएको हो । उहाँसँगै विभिन्न देशका उहाँका अनुयायी तथा सहयोगी गरी करिब ४० जना भन्दा बढीको समूह नेपालमा रहेको छ ।

सम्बन्धित खबरहरु