काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको ज्यान लिइएको छ । त्यहाँको मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको सामुहिक रुपमा ज्यान लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले यसको जानकारी दिनुभयो । ६ जनाको ज्यान लिइएको बिहान गाउँलेले देखेका थिए ।

कसैको घरभित्रै, कसैको बाहिर बाटोमा लाश फेला पारिएको छ । मृतकहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती रहेका छन् ।

तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा बौद्ध कार्की घरभित्रै सकुशल फेला पर्नु भएको छ । नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताउनुभयो ।

उहाँले आफु पनि घटनास्थलतर्फ गइरहेको जानकारी दिनु भएको छ । डिएसपी सुवेदीले गएराति घटना भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो ।

बिहान भएको भए होहल्ला हुने र गाउँलेले थाहा पाउँने उहाँको भनाई रहेको छ । घटनाको अनुसन्धान भइरहेको छ । अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । घटनास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ ।

सम्बन्धित खबरहरु