काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने खत्तरा देखिएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने सम्भावना देखिएको बताउनु भएको हो ।

राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले यस्तो धारणा राख्नुभयो । सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको उहाँको भनाई रहेको छ ।

पाँच जना मन्त्रीले चलेको यो सरकार ५० दिन पुग्दा पनि विस्तारको नाम निशाना नभएको भन्दै उहाँले भन्नुभयो, ‘सरकार विस्तार गर्दा यो सरकार नै पो ढल्छ भन्ने डर छ ।’ उहाँले सरकार विस्तार भयो भने दल फुट्ने हो कि सरकार नै ढल्ने हो कि भन्ने अचम्मको अवस्था रहेको उल्लेख गर्नुभयो ।

कठिन अवस्थामा सरकार चलिरहेको उहाँले जानकारी गराउनुभयो । दोस्रो पटक संसद् विघटन गर्नु एमाले अध्यक्ष केपी शर्मा ओलीको बाध्यता भएको पनि उहाँको तर्क छ ।

त्यस मुद्दामा सर्वोच्च अदालतले अचम्मको फैसला गरेको नेम्वाङले टिप्पणी गर्नुभयो । सरकारका कारण संसद्ले सिन्को भाँच्न पनि नपाएको उहाँले बयान दिनु भएको छ ।

सम्बन्धित खबरहरु