काठमाडौं । झण्डै दुई महिना भैसक्दासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाको आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने विश्वास गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा संलग्न दलहरूको सहमतिमा सरकारले एकाध दिनभित्रै पूर्णता पाउने जानकारी दिनु भएको हो ।

सरकारमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ । यस्तै, नेकपा(माओवादी केन्द्र)का तर्फबाट दुई मन्त्री कार्यरत रहनुहुन्छ ।

सरकार विस्तारमा ढिलाई भइरहेको भन्दै विभिन्न टिका टिप्पणी भइरहेको सन्दर्भमा नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पार्नुभयो ।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल छन् । जनमोर्चाले सरकारलाई समर्थन गर्ने बताए पनि मन्त्रिमण्डलमा सहभागी नहुने सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित खबरहरु