काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले धेरै महत्वपूर्ण निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलेले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने बताउनुभयो ।

उहाँले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि आफूले सरकारको तर्फबाट छलफल गरेको उल्लेख गर्दै सहमतिका आधारमा बजेट संशोधन हुने उल्लेख गर्नुभयो ।

गत जेठ १५ गते तत्कालीन सरकारले अध्यादेशमार्फत चालु आवको बजेट ल्याएको थियो । सङ्घीय संसद्को बैठक आह्वान गर्न केही दिनमात्रै बाँकी रहेका बेला तत्कालीन ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिश गरेको थियो ।

जनप्रतिनिधिमूलक संस्था विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याइएको भन्दै तत्कालीन सरकारको चौतर्फी आलोचना भएको थियो ।

प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले गत असार २८ गते परमादेश दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।

सम्बन्धित खबरहरु