काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिनुभएको छ ।

उहाँले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिनुभयो ।

गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन गरेर बर्सातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

प्रजिअ सापकोटाका अनुसार रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते हुनुभएको छ ।

त्यस्तै मन्त्री खाँणले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिनुभयो ।

प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुङ्गे पुलमा असर पु¥याएको जानकारी गराउनुभएको थियो ।

उहाँले ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नक्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिनुभएको छ ।

कारागारमा आइतबार अपराह्न चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिनुभएको हो ।

प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको मन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो ।

मन्त्री खाँणले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रजिअ शिवराम गेलाल र भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईसँग पनि बाढी, पहिरो र डुबानको असरबारे जानकारी लिनुभएको थियो ।

उहाँहरूले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । उहाँले सबै प्रजिअहरूलाई प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिनुभएको थियो ।

सम्बन्धित खबरहरु