काठमाडौं । संखुवासभामा एकै परिवारका छ जनाको नरसंहार प्रकरणले सबैलाई हैरान बनाएको छ । घरदेखि सय मिटर परसम्म लाश फेला पारिएको हो ।

घटनाको प्रकृति हेर्दा जिल्लाको प्रहरीबाट मात्र अनुसन्धानले पूर्णता पाउने नदेखिएपछि संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट आठ जनाको विज्ञ टोली सहित तालित प्राप्त कुकुर पठाइएको छ । प्रहरी नायब उपरीक्षक सुवेदीले यसबारे जानकारी दिनुभयो ।

धरानबाट पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको विशेषज्ञसहितको टोलीले घटना स्थलमा पुगेर सोमबार साँझबाट अनुसन्धान सुरु गरेको छ ।

घटनामा संलग्न हुन सक्ने अपराधी फरार हुन नदिन सङ्खुवासभाका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

संखुवासभा जिल्लाको मादी नगरपालिका–१ उम्लिङ स्थित खोला गाउँमा आएतबार राती एकै परिवारका ६ जनाको नरसंहार भएको थियो । बौदमान कार्कीको परिवारका ६ सदस्यको नरसंहार गरिएको हो ।

बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए । सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन् । उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन् । बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन् ।

तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो । ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले बतायो । मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका हुन् ।

काम गर्न जाँदा लगाउने लुगा लगाएको र गम्बुट, चप्पलसहित भएकाले उनीहरूको ज्यान बिहान वा बेलुकीको समयमा लिएको हुन सक्ने अनुमान गरिएको छ ।

गम्बुट र चप्पल लगाएकाले भाग्दाभाग्दै उनीहरूको ज्यान लिइएको आशंका गरिएको छ । कार्की परिवारका दुई जना वैदेशिक रोजगारीमा छन् ।

जेठो छोरो रमेश मलेसियामा र कान्छा छोरा नरेश दुवईमा छन् । नरेशकी श्रीमती झापाको दमकमा बस्दै आएकी छन् । विदेशमा रहेका रमेशको श्रीमती अन्जना, छोरा दिपेन र छोरी गोमा सहित बुबा, आमा र हजुरआमाको ज्यान लिइएको हो ।

घटना झनै रहस्यमयी भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । प्रहरीले अहिले अपराधी पत्ता लगाउने काम गरिरहेको छ । तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो ।

जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ । तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेका थिए ।

सम्बन्धित खबरहरु