काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको आरोप लगाउनु भएको छ । मंगलबार कास्कीको पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको आरोप लगाउनुभयो । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको उहाँको भनाई रहेको छ । उहाँका अनुसार कांग्रेसले लड्ने आँट गरेको छैन ।

अध्यक्ष ओलीले माधव नेपाललाई प्युसोको संज्ञा दिनुभयो । हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्केको उल्लेख गर्नुभयो । एमाले कब्जा हुँदैन भन्ने थाहा पाएपछि नेपाल एमालेबाट अलग भएको उहाँको भनाई रहेको छ ।

सम्बन्धित खबरहरु