काठमाडौं । पपुवान्यूगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्नु अघि तयारी स्वरुप पपुवान्यूगिनी बिरुद्ध दुई खेलको एकदिबसीय श्रृखंला खेल्नेछ ।

ओमानको राष्ट्रिय क्रिकेट एकेड्मी रङशालामा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पपुवान्यूगिनीले ३३ ओभरमा १३४ रनको योगफल तयार गरेको हो ।

पपुवान्यूगिनीका लागि चालर्स अमिनिले सर्बाधिक २३ तथा गौडी टोकाले २२ रनको योगदान दिनुभयो । सेसी बौले १४ र किप्लिन डोरिगाले १५ रनको योगदान दिनुभयो ।

दोस्रो ओभरमा औसत गतिका बलर बिक्रम सोबले ओपनर टोनी उरालाई बोल्ड गर्दै पपुवान्यूगिनीमाथि दबाब बनाउनुभयो ।

उहाँले तेस्रो ओभरमा पुनः कप्तान अस्साद भालालाई आरिफ शेषको हातमा क्याच थमाएपछि पपुवान्यूगिनीले नौ रनमै दुई महत्वपूर्ण विकेट गुमाउन पुग्यो ।

तर सिएका र चालर्सले अद्र्धशतकीय पारी खेलेर पपुवान्यूगिनीलाई प्रारम्भिक दबाबबाट बाहिर निकाल्नुभयो ।

सन्दीप लामिछानेले चालर्सलाई विकेट पछाडि आसिफ शेषबाट क्याच आउट गराउँदै साझेदारी तोड्नुभयो ।

पपुवान्यूगिनीलाई सस्तोमै समेटन नेपालका लागि दुई जना स्पिनर सन्दीप र कुशल मल्लले छ विकेट बाँड्नुभयो । सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिनुभयो ।

कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी महँगो साबित हुनुभयो । उहाँले सात ओभरमा ३७ रन खर्चिनुभयो ।

उहाँले एक विकेट लिनुभयो । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरेपनि विकेटविहीन रहनुपर्यो ।

सम्बन्धित खबरहरु