काठमाडौ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि शानदार जित हासिल गरेको छ ।

रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपाललाई २ विकेटको जित हात पारेको हो ।

मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे। नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ।

सम्बन्धित खबरहरु