काठमाडौं । नेपालले एकदिबसीयको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले हराएको छ । नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीयको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले हराएको हो ।

नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छदा आठ विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य पुरा गर्यो । ओमानमा पपुवान्यूगिनीसँग नेपालले दुई अन्तर्राष्ट्रिय एकदिबसीय खेल्नेछ ।

१३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ८२ रनमै सात विकेट गुमाएर फितलो प्रदर्शन गरेको नेपालका लागि रोहित पौडेलले संयमित पारी खेल्दै जितका लागि एक रन आवश्यक छँदा बोल्ड हुन पुग्नुभयो ।

पौडेलले ४१ रनको योगदान दिनुभयो । आठौं नम्बरमा ब्याटिङ गर्न आउनुभएका सोमपाल कामीले अविजित २२ रनको योगदान दिनुभयो । दुबै जनाले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्नुभयो ।

रोहित र सोमपालले गर्नुभएको अद्र्धशतकीय साझेदारी नेपाली पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । बिक्रम सोब रन नजोडिकन अविजित रहनुभयो । पपुवान्यूगिनीले ४० औं ओभरको तेस्रो बल नो बल फाल्दा नेपालले जित हात पार्यो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेषले औसत सुरुवात दिलाउनुभयो । तर मध्यक्रम असफल हुँदा नेपाली ब्याटिङ क्रम सामान्य लक्ष्य पछ्याउने क्रममा समेत दबाबमा आयो ।

पहिलो विकेटका लागि ४६ रनको साझेदारी भएको अवस्थामा कुशल भुर्तेल एलबीडब्ल्युको धरापमा परेर १५ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । लगत्तै आसिफ शेष ३० रन बनाएर पेभेलियन फर्किनुभयो ।

कप्तान ज्ञानेन्द्र मल्लले छ, आरिफ शेषले नौ, कुशल मल्लले १ तथा पवन सर्राफ खाता नखोल्दै पेभेलियन फर्किनुभयो । पपुवान्यूगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

सम्बन्धित खबरहरु