काठमाडौं । पछिल्लो समय चर्चामा रहेको एमसीसी सम्झौतालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण बयान दिनु भएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिनु भएको हो ।

नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवाले कांग्रेस संसदीय दलको बैठकमा यस्तो बताउनुभयो ।

मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाउनु भएको थियो ।

जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनुभयो ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको उहाँले जानकारी दिनुभयो ।

देउवाले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने उल्लेख गर्नुभयो । तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको पनि उहाँको बुझाई रहेको छ ।

एमसीसीबारे बुझेका सांसदहरुलाई बोल्न देउवाले निर्देशन दिनुभयो । नबुझेका सांसदहरुलाई नबोल्न भनिएको छ ।

सम्बन्धित खबरहरु