काठमाडौं । पार्टी परिवर्तन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अन्तिम दिनसम्म अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् ।

सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म निर्वाचन कार्यालयमा पुगेर नेकपा (एमाले) परित्याग गरेर समाजवादीमा सनाखत गर्नेमा एक नगरप्रमुख, एक नगरउपप्रमुख, दुई वडा अध्यक्ष रहेका छन् ।

यस्तै तीन कार्यपालिका सदस्य, नौ जना खुला वडा सदस्य, महिला र दलित महिला पाँच,पाँच जना रहेको निमित्त निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिनुभयो ।

समाजवादीमा सनाखत गर्नेमा साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–३ का वडा अध्यक्ष रामबहादुर साउँद, ४ का अध्यक्ष हर्कबहादुर लुहार रहेका छन् ।

दश स्थानीय तह मध्येमा नेकपा (एमाले) का उम्मेद्वार मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिकामा प्रमुख र उपप्रमुख र चौरपाटी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, उपप्रमुख सरिता उपाध्यायसहित अधिकाँस वडा अध्यक्ष र सदस्य एमालेमै रहेको बताइएको छ ।

माधवकुमार नेपालको नेतृत्वको समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधि अधिकाँस वडा सदस्य छन् । साँफेबगर नगरपालिक, मेल्लेख गाउँपालिका, ढकारी गाउँपालिकामा नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष भने मुल पार्टीमै रहेको भन्दै विज्ञप्ती प्रकाशित गरिसकेका छन् ।

सम्बन्धित खबरहरु