काठमाडौं । सङ्घीय संसद् अधिवेशन आज सुरु हुँदै छ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुन लागेको हो । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ ।

मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।

विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो । अन्त्यपछि फेरिएको राजनीतिक परिदृश्यसँगै सरकारले पुनः अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

सङ्घीय संसद्को अबको अधिवेशनमा विचाराधीन विधेयक र केही महत्त्वपूर्ण सम्झौतामा निर्णय लिनुपर्ने अवस्था छ । प्रतिनिधि सभा विघटनपछि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुन सकेको छैन ।

अध्यादेश जारीपछि अधिवेशन बसेको साउन ३ गतेको मितिले ६० दिनभित्र बजेटसहितका १३ अध्यादेश प्रतिस्थापन भइसक्नुपर्ने छ तर अघिल्लो अधिवेशनमा पेस भई स्वीकृतसमेत भएका छैनन् । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि बुधबारको पहिलो बैठकमा नै पेस गरिने बताउनुभयो ।

अध्यादेश स्वीकृतको प्रस्तावलाई संसद् सचिवालयले सम्भावित कार्यसूचीमा समेत प्रकाशन गरिसकेको छ । अधिवेशन प्रारम्भ हुने पहिलो बैठकमा यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत पेस हुनेछ । सो अध्यादेश गृहमन्त्रीका तर्फबाट पेस हुनेछ ।

सम्बन्धित खबरहरु